गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द, पोखरामा अनुमति लिन 'कोही आएन'

मंगलबार, जेठ २, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भन्दै बनाइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय उडान गर्दै आएको एक मात्र कुवेतको जजीरा एअरवेजले उडान बन्द गरेपछि उक्त विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेको हो ।
“व्यावसायिक कारणले अहिले उडान रोकेको भन्दै उहाँहरूले हामीलाई पत्राचार गर्नुभएको छ,” विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले भने ।
विमानस्थल अधिकारीका अनुसार गत ज्यानुअरी र फेब्रुअरीमा हुस्सुका कारण उडान नगरेको जजीरा एअरवेजले त्यसपछि केही उडान गरेर फेरि बन्द गरेको थियो ।
“गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एप्रिल १९ तारिखमा उहाँहरूले अन्तिम उडान गर्नुभएको रेकर्ड छ,” बज्राचार्यले भने ।
जजीरा एअरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिनबाट अर्थात्‌ गत जेठ २ गतेदेखि सातामा तीनवटा उडान गर्दै आएको थियो ।
त्यसबाहेक हिमालय एअरलाइन्सले डेढ महिनाजति त्यहाँबाट सिङ्गापुरका लागि उडान गरेको थियो ।

कारणबारे विभिन्न तर्क

जजीरा एअरवेजले उडान बन्द गर्नुको कारण व्यावसायिक पक्ष मात्र उल्लेख गरेपनि विभिन्न तर्कवितर्क सुनिएका छन् । एकथरीले पर्याप्त यात्रु नपाएको भनिरहेका छन् भने अर्कोथरीले रातिको समयमा विमानस्थलले उडान अनुमति नदिएकोले बन्द गरेको बताइरहेका छन् ।
प्रवक्ता बज्राचार्यले पर्याप्त यात्रु नपाएको स्वीकारे पनि रात्रिकालीन उडान अनुमति दिन नसकिने कुरा सत्य नभएको दाबी गरे ।
“उहाँहरूले ुअर्ली मोर्निङु भन्नुभएको थियो। तर उडानलाई निरन्तरता दिने भए त सायद गर्नुहुन्थ्यो होला,” उनले भने।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्ननाथ निरौला पनि रात्रिकालीन उडानका लागि अनुमति दिन नसकिने कुरा “साँचो” नभएको बताउँछन् ।
“जजीरा एअरवेजले अहिले आफ्नै कारणले अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो। हामी त जति बेलाका लागि पनि उडान अनुमति दिन तयार छौँ,” उनले भने ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

"इन्स्ट्रुमन्ट ल्यान्डिङ सिस्टम" जडान भए पनि भारत सहमत नहुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म त्यसको प्रयोग गर्न सकेको छैन ।
त्यसको प्रयोग गर्न पाएको भए कम भिजिबिलिटी अर्थात् दृश्यात्मकतामा विमान उडाउन र अवतरण गर्न सहज हुने अधिकारीहरू बताउँछन् ।
निरौलाका अनुसार इन्स्ट्रुमन्ट ल्यान्डिङ सिस्टमको प्रयोगका लागि सहमति जनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको आगामी भारत भ्रमणका क्रममा कुरा हुन सक्छ ।
“कर्मचारी तहमा कुरा हुँदा भारतीय पक्ष त्यसमा सहमत नै देखिएको छ। प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा यो विषय टुङ्गिने हामीले आशा गरेका छौँ,” निरौलाले भने ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति भने अहिलेसम्म टुङ्गो लागिसकेको छैन।

पोखरा विमानस्थलबाट कहिले ?
एकातिर अन्तर्राष्ट्रिय उडान हुँदै आएको गौतम बुद्ध विमानस्थलबाट उडान स्थगित भएको छ भने अर्कोतर्फ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नै सुरु हुन सकेको छैन ।
उक्त विमानस्थलले पनि अहिले गौतम बुद्ध विमानस्थलले जस्तै आन्तरिक उडानहरू मात्रै गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि कुनै विदेशी वायुसेवा प्रदायक कम्पनीले अनुमति नलिएको विमानस्थलका महाप्रबन्धक विक्रमराज गौतम बताउँछन् ।

पोखरा विमानस्थल
“हामी उडान गर्छौँ, त्यसका लागि यी(यी सुविधा चाहिन्छ भनेर अहिलेसम्म कतैबाट प्रस्ताव आइसकेको छैन,” उनले भने । “फलानो मितिबाट फलानोले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भन्नेबारे त्यस्तो केही छैन।”

नाफा छ कि घाटा ?
अन्तर्राष्ट्रिय उडान नहुँदा नाफा गर्न नसकेको विमानस्थलका अधिकारीहरू अनौपचारिक कुराकानीका क्रममा बताउँछन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका तात्कालिक महाप्रबन्धक गोविन्द दाहालले सञ्चालन खर्च नै उठाउन धौधौ भएको बताएका थिए ।
आम्दानीको त्यति बेलाको अवस्थामा अहिले केही परिवर्तन नआए पनि बहालवाला अधिकारीहरूले त्यसबारे बोल्न चाहेनन् । “डीजी साहबले हिसाबकिताब निकाल्न भन्नुभएको छ। अब केही दिनभित्र आउन सक्छ,” प्रवक्ता बज्राचार्यले भने ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि उस्तै छ । विमानस्थल अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय उडान हुँदो हो त नाफा हुन्थ्यो ।
“दिनहुँ १,००० जना यात्रु मात्रै यहाँबाट उडान गर्ने भए सेवा शुल्कबाटै हामीलाई दैनिक १५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो,” महाप्रबन्धक गौतमले भने।
भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स
एक वर्षअघि व्यावसायिक रूपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्र ‘विजनेश’ पाउन सकेको छैन । 
विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त विमानस्थलमा कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको थियो । यद्यपि, यो एयरलाइन्सले पनि विभिन्न कारण देखाउँदै उडान नियमित गरेको छैन । अघिल्लो पटक झण्डै दुई महिना उडान स्थगित गरेको जजिराले पुनःकरिब एक महिनादेखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेठ १५ देखि उडान गर्नेगरी आवश्यक तयारी गरिरहेको छ । 
निगमले भैरहवाबाट भारतको नयाँदिल्ली र मलेसियाको क्वालालम्पुर सातामा एक–एक उडान गर्ने कार्यतालिका बनाएको छ । मलेसियाबाट उडान अनुमति पाइसकेको निगमले भारतबाट अझै अनुमति पाएको छैन । 
“भारतबाट उडान अनुमति पाएका छैनौँ, ‘अन्डर प्रोसेस’ भनेर सन्देश आएको छ, एक÷दुई दिनभित्रै निर्णय आउला, अनुमति पाउनासाथ टिकट बिक्री खुला गर्नेछौँ”, निगमका प्रवक्ता रमेश पौडेलले भने । 
उनका अनुसार ‘इनरुट’मा पर्ने देशबाट ‘ओभर प्लाइट’ को अनुमति र सम्बन्धित देशको ‘ल्याण्डिङ पार्किङ’को अनुमति आउनसाथ काम अगाडि बढ्नेछ । यसका लागि सम्बन्धित मुलुकसँग अनुमति प्रक्रियामा रहेको प्रवक्ता रमेश पौडेलले बताए । गौतमबुद्ध विमानस्थलबाट उडान सुरू गरेपछि निगमले भैरहवा–दिल्ली–काठमाडौँ र काठमाडौँ–मलेसिया–भैरहवा उडान हुनेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका नेपाल एयरलाइन्सले ‘समर’मा उडानका लागि तालिका पेस गरिसकेको छ । “नेपाल वायुसेवा निगमको भैरहवामा उपस्थिति नै हाम्रा लागि सकारात्मक पक्ष हो, अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाइरहेकाले उनीहरूलाई आकर्षण गर्न यसले मद्दत पुग्नेछ”, उनले भने । 
जजिराको उडान अन्योल  
झन्डै एक महिनादेखि जजिरा एयरवेजले उडान बन्द गरेको छ । जजिराले वैशाख ६ गते (अप्रिल १९)देखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय जजिराले कुवेत–भैरहवा सातामा तीन उडान भर्दै आइरहेको थियो । तर उडान अवतरणमा समय तालिका नमिलेपछि स्थगन गरेको एयरलाइन्सले उल्लेख गरेको छ ।
 यसअघि जजिराले मङ्गलबार, बिहीबार र शुक्रबार बिहान ७ः१५ बजे विमानस्थलमा अवतरण हुने र ८ः०५ मा कुवेतका लागि उडान गर्दै आएको थियो । तर यात्रु सुविधाका लागि भन्दै जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समय तालिका परिर्वतन गरेर उडान गर्न अनुमति मागेको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जजिराले व्यावसायिक कारण देखाउँदै उडान स्थगित गरेको र कहिलेबाट उडान हुने टुङ्गो नरहेको बताउनुभयो । पछिल्लो पटक मौसमका कारण झन्डै दुई महिना रोकिएको उडान गत फागुन २५ गतेबाट पुनः सुरू भएको थियो । जजिराले २०७९ साल जेठ २ गतेबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको थियो । व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवा शुल्कमा पनि छुट पाएको थियो । जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुट पायो । विमानस्थलले यस्तो छुट थप एकवर्ष लम्ब्याएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्सले विसं २०८१ सम्म शुल्क छुट पाउनेछन् ।

एक वर्षमा ३५ हजार अन्तर्राष्ट्रिय यात्रु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एक वर्षमा अन्तर्राष्ट्रियतर्फ तीन सय ५९ उडानमार्फत झण्डै ३५ हजार अन्यात्रुले आवतजावत गरेका छन् । विमानस्थलका महाप्रबन्धक पाण्डेका अनुसार ३४ हजार आठ सय ७७ अन्तर्राष्ट्रिय यात्रुको आवागमन भएको छ । आन्तरिक उडान नियमित भइरहे पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको उनले बताए ।

म्यान्मार, थाइल्याण्ड र कम्बोडियाबाट उडान चासो
गौतमबुद्ध विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चासो दिएका छन् । विमानस्थलका अनुसार अहिले म्यानमार, थाइल्याण्ड, कम्बोडियालगायत मुलुकबाट उच्च अधिकारीले विमानस्थलको स्थलगत अवलोकनसमेत गरेका छन् ।  म्यानमारले छिट्टै चार्टर्ड उडान गर्ने मौखिक प्रतिक्रिया दिएको छ भने अन्य एयरलाइन्सले थप छलफल गरी उडान गर्ने संकेत गरेका छन् । भैरहवाबाट बौद्धमार्गीहरूको बाहुल्यता भएका मुलुकमा उडान विस्तार हुने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार