बालकृष्ण खाणको बयान बिचैमा रोकेर टोपबहादुर रायमाझीसँग बयान

मंगलबार, जेठ २, २०८०

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा बयान दिइरहेकै बेला पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूलाई सञ्चो नभएको जनाएपछि उनको बयान रोकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीसँग बयान लिएको थियो । खाणसँगको बयान रोकिएपछि कार्यालयले सोही प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिएको थियो । रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने भने, “बयान लिँदालिँदै पूर्वमन्त्री खाणले सञ्चो नभएको बताउनुभयो, त्यसपछि उहाँसँगको बयान रोकेर पूर्वउपप्रधानमन्त्री रायमाझीसँग बयान लिन सुरु भएको छ ।”
नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ । यसअघि खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिइएको थियो । उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने फरार छन् ।
शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो । वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

Balk1684062238.jpg
उक्त घटनामा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यस दिन सन्दीप मात्रै पक्राउ परेका थिए । त्यसपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले आइतबार काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।
वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । त्यसअघि गत चैतमा उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवको नाम मुछिएपछि पक्राउ गरिएको हाे । पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक हाल सम्पर्कविहीन छन् ।
शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरू विरुद्ध २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी गरेको आरेप लगाएका छन् । उक्त घटना विसं २०७६ सालदेखि नै सुरु भएको र २०७७ सालदेखि भने गृहका अधिकारीसहितको मिलेमतोमा सङ्गठित रूपमा ठगी भएको प्रहरीले दावी छ । लामो समयसम्म शरणार्थी बनेर अमेरिका जान नपाएपछि मात्रै पीडितहरू प्रहरीमा आएका थिए । गत जेठमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले जाहेरी दिएका थिए ।
तर उक्त घटनाका आरोपीहरू गत चैतमा पक्राउ परेपछि उनीहरूको बयानका आधारमा घटनामा जोडिएका मन्त्री तथा सरकारी उच्च पदस्थ अधिकारीहरू समेत पक्राउ परेका हुन् । उक्त प्रकरणमा नाम जोडिएका मञ्जु खाँण तथा नेपाली काँग्रेसकी नेतृ आरजु देउवासहितका उच्च अधिकारीहरूका विषयमा भने प्रहरीले प्रमाण जुटाउने प्रयास जारी राखेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार