कांग्रेसका पूर्वसांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

सोमबार, जेठ १, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।  सोमबार साँझ उनले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेको कार्यालय प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको उनीमाथि आरोप छ ।
जिल्ला अदालत काठमाडौंबाट शुक्रबार नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तर शेर्पा त्यसअघि नै फरार छन् । यो प्रकरणमा ठूला नाम संलग्न भएको र पक्राउ पर्न थालेपछि उनी मोबाइल स्वीचअफ गरेर फरार थिए ।
शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए । उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए ।
तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार