अर्घाखाँचीकै कार्यकर्ताको घरमा लुकेका थिए टोपबहादुर रायमाझी

सोमबार, जेठ १, २०८०

काठमाडौँ । ११ दिनअघिदेखि फरार टोपबहादुर रायमाझीलाई प्रहरीले बूढानीलकण्ठस्थित अर्घाखाँचीकै एक कार्यकर्ताको  घरमा फेला पारेको छ । अर्घाखाँचीका घरभएका एक कार्यकर्ताको बूढानीलकण्ठस्थित घरमा लुकेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको छ। ‘अर्घाखाँचीकै एक व्यक्तिको घरमा लुकेको अवस्थामा पक्राउ गरिएको हो । ती व्यक्ति उहाँकै कार्यकर्ता भएको बुझिएको छ’, प्रहरीले भन्यो।
वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानमा सहयोग गर्छु भन्दै रायमाझी भागेका थिए ।
उनलाई पक्राउ गर्न प्रहरीले देशभरका युनिटमा सर्कुलर गरेको थियो । भारत भागेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलि पनि परिचालन गरिएको थियो ।
रायमाझीले केही दिनअघि मात्रै आफू बिरामी रहेको भन्दै संसदमा पत्र पठाएका थिए । त्यसपछि प्रहरीले उनको खोजि थप तिब्र बनाएको थियो ।
रायमाझीको पत्र संसदमा लैजाने व्यक्तिको समेत खोजि गर्दै प्रहरीले शनिबारदेखि उनलाई नै ट्रयाक गरेको थियो। तर रायमाझीले प्रहरीलाई नै झुक्याउने गरी मुभमेन्ट गर्दा पक्राउ गर्न समय लागेको थियो ।
अर्घाखाँचीबाट बुटवल फर्किने क्रममा रायमाझी वैशाख २० गते साँझ फरार भएका थिए । त्यसै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई भने बुटवलबाट पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थीका नाममा रायमाझी बाबुछोराकै संलग्नता रहेको आरोप छ ।
टोपबहादुर पक्राउ परेसँगै यो प्रकरणमा १३ जना पक्राउ परेका हुन् । यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परेका थिए ।  अझै केही फरार छन् । आइतबार मात्रै यसअघि पक्राउ परेकाविरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिन म्याद थप गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार