टोपबहादुर मध्यराति छिरेका थिए काठमाडौं

सोमबार, जेठ १, २०८०

काठमाडौँ । फरार पूर्वमन्त्री एवम् सांसद टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ परेका छन् । ११ दिनअघि अर्घाखाँचीबाट बुटवल फर्किने क्रममा रायमाझी फरार भएका थिए । वैशाख २० गते पक्राउ पुर्जी जारी भएको सूचना बाहिरिएकै साँझ रायमाझी भागेका थिए ।  बुटवलबाट फरार भएका उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले बुढानिलकण्ठस्थित एक घरबाट पक्राउ गरेको हो ।
रायमाझीलाई प्रहरीले शनिबारदेखि नै ट्र्याक गरेको थियो । प्रहरी उच्च स्रोतले भन्यो, ‘हामीले हिजैदेखि ट्रयाक गरेका थियौं । उहाँ पटक पटक बाटो परिवर्तन गर्दै मध्यराति काठमाडौं छिर्नु भएको थियो । आज दिनभर लगाएर पत्ता लगायौं ।’
टोपबहादुरलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरले विशेष टोली परिचालन गरेका थिए । आईजीपी कुँवरलाई नै फोन गरेर आफैं उपस्थित हुने बताएका रायमाझी पक्राउ नपर्दा उनीमाथी दबाब बढेको थियो ।
आफैं उपस्थित हुने बताएका रायमाझी भागेपछि एमालेले पार्टीबाट निलम्बन गरिसकेको छ । रायमाझीले केहीदिन अघि मात्रै संसदमा बिरामी भएको पत्र पठाएका थिए । प्रहरीले उनको पत्र संसदमा लैजाने व्यक्तिको समेत खोजि गरेको थियो।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार