छोरीको टिकटक भिडिओले जन्माएको विवादपछि पपुवा न्यूगिनीका विदेशमन्त्रीले दिए राजीनामा

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा भाग लिन जाँदा विलासी ढङ्गले खर्च गरेको विवाद सतहमा आएपछि पपुवा न्यूगिनीका विदेशमन्त्रीले राजीनामा दिएका छन् ।
जस्टीन चेचेन्को आफ्नी छोरी साभन्नासहित उक्त समारोहमा सहभागी हुन ब्रिटेन गएका थिए । उनकी छोरीले विमानको ‘फर्स्ट क्लास’ यात्रा र सिङ्गापुरमा गरिएको किनमेल सम्बन्धी भिडिओहरू सामाजिक सञ्जाल टिकटकमा राखेकी थिइन् ।
बुधवार उनले आफ्नी छोरीका आलोचकहरूलाई ‘आदिम जनावरहरू’ को सङ्ज्ञा दिएका थिए ।
उनको प्रतिक्रियाले राजधानी पोर्ट मोज्बीमा रहेको संसद् भवन बाहिर प्रदर्शनहरू निम्त्याएको थियो ।

कसरी उब्जियो विवाद
पपुवा न्यूगिनी प्रशान्त क्षेत्रमा अवस्थित एउटा कमनवेल्थ देश हो र राजा चार्ल्स त्यहाँका राष्ट्र प्रमुख हुन् ।
एउटा विज्ञप्तिमा चेचेन्कोले देशका प्रधानमन्त्री जेम्स मारापेसँग छलफल गरेर आफू उक्त निर्णयमा पुगेको जानकारी दिएका छन् ।
उनले पछिल्ला घटनाक्रमले अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकमा गर्न लागेको भ्रमणलाई प्रभावित नपारुन् भन्ने आफूले चाहेको बताए ।
उनले थपे, “म यस बारेमा सत्यतथ्य ल्याइयोस् र मिथ्या सूचना र भ्रमहरूलाई सच्च्याइने सुनिश्चित होस भन्ने चाहन्छु।”

स्थानीय अखबार पोस्ट(कुरिअरका अनुसार चेचेन्को र उनकी छोरी राजा चार्ल्सको राज्याभिषेकमा भाग लिन कम्तीमा १० जना अधिकारीसहित त्यहाँ पुगेका थिए ।
उक्त भ्रमणका लागि १० लाख डलरसम्म खर्च भएको सो अखबारको भनाई छ ।
सरकारी प्रवक्ता बिल टोरासोले रोयटर्स समाचार संस्थालाई आफ्ना १० जना कर्मचारी अन्य १० पाहुनासहित लन्डन पुगेको जानकारी दिए ।
हाल मेटाइएको भिडिओमा साभान्नाले सिङ्गापुरका विलासी फेसन स्टोरहरूको आफ्नो भ्रमण कैद गरेकी छन् । उनले लन्डन जाने क्रममा एउटा भव्य विशिष्ट श्रेणीको लाउन्जमा खाना खाइरहेको दृश्य पनि राखेकी थिइन् ।
त्यसलाई लिएर कतिपयले पपुवा न्यूगिनीमा आक्रोश व्यक्त गरेका थिए । उनीहरूले गरिब देशमा सर्वसाधारणबाट उठाइएको रकम सार्वजनिक सेवामा प्रयोग गरिनु उपयुक्त नहुने धारणा राखेका थिए ।

आफ्नै प्रतिक्रियाले निम्त्याएको समस्या
चेचेन्कोले अस्ट्रेलियाको एबीसी च्यानलसँग कुरा गर्दै आफ्ना आलोचकहरूलाई ‘कुनै काम नभएका आदिम जनावर’को सङ्ज्ञा दिएका थिए ।
उनी (मेरी छोरी) साँच्ची नै यी आदिम जनावरहरूका कारण भयभीत छिन्,” उनले भने । “म यिनलाई आदिम जनवारहरू भनिरहेको छु किनभने यिनीहरू त्यस्तै हुन् ।”
उनले अरूको आरिस गर्नु गलत भएको भन्दै काम नभएका केही व्यक्तिहरूले देशको लागि राम्रो गर्न चाहेका व्यक्तिहरूलाई निराश बनाउने प्रयास गरेको बताए ।
उनले पछि आफ्नो अभिव्यक्तिका लागि माफी मागेका थिए । उनले आफ्नो अभिव्यक्ति आफ्नी छोरीका बारेमा ‘घृणा फैलाउने र खराब देखाउने गरी व्यक्त भएका प्रतिक्रिया’ मा लक्षित रहेको जनाए ।
प्रधानमन्त्री मारापेले देशका नागरिकहरूलाई चेचेन्कोले माफी मागेको विषयलाई स्वीकार गरिदिन भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यूगिनीको दुई दिने भ्रमणमा आगामी मे २१ मा त्यहाँ पुग्दैछन् । त्यसको भोलिपल्टै अमेरिकी राष्ट्रपति बाइडन पनि उक्त देशमा पुग्नेछन् ।
जापानमा जी सेभेनका शीर्ष नेताहरूको बैठकपछि राष्ट्रपति बाइडन केही समय पोर्ट मोज्बीमा रोकिने ह्वाइट हाउसले पुष्टि गरेको छ । बीबीसी

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार