नक्कली शरणार्थी मामिलामा राष्ट्रसङ्घ चिन्तित

बुधबार, वैशाख २७, २०८०

काठमाडौं । आर्थिक लेनदेन गरेर नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रपञ्च गरिएको मामिलाले नेपालको राजनीतिक वृत्तमा उथलपुथल भइरहेको बेला संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्चायोग ९यूएनएचसीआर०ले त्यसप्रति गहिरो चिन्ता प्रकट गरेको छ । ‘नेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएको’ विषयप्रति आफूहरूको गहिरो चिन्ता रहेको यूएनएचसीआरको नेपालस्थित कार्यालयले प्रतिक्रिया दिएको छ । “यस मामिलामा नेपाल सरकारको अनुसन्धानको हामी स्वागत गर्छौँ,” उसले भनेको छ। सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी अर्का पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन् ।

‘शरणार्थीको सामूहिक पुनर्वास समाप्त भइसक्यो"
यूएनएचसीआरले नेपालबाट एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठवटा देशमा पुनर्वासको सहजीकरण गरेको थियो । त्यसमा झन्डै एक लाख शरणार्थीलाई अमेरिकाले स्वीकारेको थियो ।
“नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भइसकेको छ र त्यो फेरि सञ्चालन हुने छैन,” यूएनएचसीआरले भनेको छ ।
आफूले शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम सम्पन्न भइसकेको विषयलाई निरन्तर प्रस्तुत गर्दै आएको पनि यूएनएचसीआरले जनाएको छ ।
नक्कली शरणार्थीको विषयका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायसामु बिग्रिने चिन्ताका माझ यूएनएचसीआरको अहिले प्रतिक्रिया आएको हो ।

Top_bahadur1683117739.jpg

के हो मामिला ?
सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा राखिएको थियो ।
स्वदेशफिर्तीको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए ।
उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ ।
नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी(शनिश्चरे शिविरमा छन् ।
तर अहिले तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे निर्क्योल हुने क्रममा नीतिगत रूपमै भ्रष्टाचार गरेर नक्कली शरणार्थीहरूको नामावली तयार पारेका भन्ने विवरण सञ्चारमाध्यमहरूमा छरपस्ट भएको हो ।
उक्त मामिलालाई लिएर शरणार्थीको सूचीमा नक्कली नामहरू थपेर अमेरिका पठाउने भन्दै रकम असुल गरेको आरोपमा गत साता भूतपूर्व गृहसचिव टेकनारायण पाण्डेसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो । रायमाझी बुधवार दिउँसोसम्म फरार छन् । यसै मामिलामा बुधवार बिहान पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई प्रहरीले उनको निवासबाटै पक्राउ गरेको छ ।
खाणकी पत्नी मञ्जु खाण अनि पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको नाम समेत यसमा मुछिएको भन्ने विवरणहरू आएका छन् । उनीहरूले आफूमाथि लागेका आरोपको खण्डन गरिरहेका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ, टोपबहादुर रायमाझी एमाले सचिवबाट निलम्बित
नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अनुसन्धानको सिलसिलामा भूतपूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् भने सोही प्रकरणमा मुछिएका भूतपूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नेकपा एमालेले सचिव पदबाट निलम्बन गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले खाण उनको निवासबाट बुधवार बिहान पक्राउ परेको पुष्टि गरे ।  उनी केही वर्षदेखि चाबहिल, मैँजुबहालमा बस्दै आएका थिए ।
खाणलाई बुधवार अपराह्न काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले बताए । त्यसैगरी आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी सम्पर्कविहीन भएका छन् । यसअघि एमालेले ‍आफ्ना नेताको बचाउ गर्दै आएको थियो । यद्यपि मङ्गलवार सचिवालय बैठकपछि एमालेले रायमाझीलाई प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धानलाई सघाउन निर्देशन दिएको थियो ।
एमालेका महासचिव शङ्कर पोखरेलले बुधवारी जारी गरेको विज्ञप्तिमा लेखिएको छ, “केन्द्रीय सचिवालयको उक्त निर्णय समेतलाई ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाही प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ।” रायमाझीलाई राज्यका निकायमा उपस्थित भएर यथार्थ स्पष्ट पार्न आफ्नो दलले निर्देशन दिएको एमालेको भनाइ छ । खाण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् । खाणलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिन्छ । गत संसदीय निर्वाचनमा उनी रूपन्देहीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहरासँग पराजित भएका थिए ।
कैयौँ उच्च पदस्थ राजनीतिक तथा प्रशासन संयन्त्रका व्यक्तिहरूको मिलेमतोमा ठगीमा संलग्न सञ्जालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा पुनर्वास गराउने भन्दै करोडौँ रुपैयाँ असुल गरेको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले सन्दिग्ध व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन थालेको छ ।
उक्त सञ्जालसँग जोडिएका र राजनीतिक नेतृत्वसँग नजिकको सम्बन्ध भएका भनिएका कतिपय व्यक्तिहरू फरार रहेको विवरणहरू आएका छन् । यो प्रकरणमा पूर्वमन्त्रीहरू र राजनीतिक पहुँच भएका अरू व्यक्तिहरूको नाम मुछिएको र अनुसन्धानलाई मत्थर पार्न सरकार र प्रहरीलाई चर्को दबाव परेको आशङ्का व्यक्त भएको छ ।

गृहमन्त्री हुँदा खाणले दबाव दिएको दाबी
उक्त स्रोतका अनुसार “झन्डै एक साताभित्र अनुसन्धानको काम सम्पन्न गर्नेगरी" काम भइरहेको छ। "राजनीतिक दबाव तीव्र छ, तर पनि काम रोकिएको छैन," स्रोतको दाबी छ ।  केही दिनअघि भूतपूर्व एआईजी विज्ञानराज शर्माले बालकृष्ण खाण गृहमन्त्री हुँदा नै नक्कली भुटानी शरणार्थी प्रकरणबारे उजुरी परेको र दुईजनालाई पक्राउ गरिएको भन्ने विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उक्त भिडिओमा शर्माले खाणले दबाव दिएर ती मानिस छुटेको दाबी गरेका छन् ।

bhutani-sharanarthi1683470673.jpg
भुटानी शरणार्थीको सूचीमा नक्कली मानिसहरू थपेर अमेरिका पठाउने भन्दै रकम असुल गरेको आरोपमा गत साता सचिव टेकनारायण पाण्डेसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो । रामबहादुर थापाका छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ । पूर्वमाओवादी नेता थापा पनि अहिले नेकपा एमालेमा छन् ।
मङ्गलवार मात्रै उक्त प्रकरणसँग जोडिएका दुई व्यक्ति पक्राउ परेको प्रहरीले बताएको थियो । नेकपा एमालेले माओवादी छाडेर आफ्नो दलमा आबद्ध रहेका सचिव रायमाझीलाई अनुसन्धानमा सघाउन मङ्गलवार मात्रै निर्देशन दिएको थियो ।

भुटानी शरणार्थी शिविरमा एक वृद्धा

प्रतिरक्षामा कसले के भने ?
उक्त प्रकरणमा जोडेर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाणकी पत्नीहरूलाई समेत रकम बुझाइएको दाबी गरिएको अडिओ टेप हालै सार्वजनिक भएको थियो । तर संसद्‌मा बोल्दै आरजु राणा देउवा आफूमाथि निराधार आरोप लगाइएको दाबी गरेकी थिइन् ।
खाणले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै सार्वजनिक रूपमा नै आफ्नो प्रतिरक्षा गरेका थिए ।
रायमाझीले पनि आफूले उक्त सञ्जालका व्यक्तिहरूलाई चिनेको भए पनि आफू कुनै अनियमिततामा संलग्न नभएको बताउँदै आएका छन् ।

पूर्वगृहमन्त्री पक्राउपछि संसद्‌मा उठेको आवाज
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली शरणार्थी प्रकरणमा नाता र नेता हेरेर निर्णय लिन नहुने बताए । अहिलेसम्म उक्त प्रकरणमा सरकारले चालेको कदमको प्रशंसा गर्दै उनले जुनसुकै दल वा ओहदामा भएको व्यक्ति पनि कारबाहीको दायरामा ल्याइनुपर्ने बताए ।
निष्पक्ष अनुसन्धानमा जोड दिँदै उनले भने, “बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस्। तर कुनै भेटघाटले पनि प्रभावित नहोस् ।” त्यसै गरी नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले सरकारले सुरु गरेको अनुसन्धानलाई तलमाथि गर्न नहुने बताए ।
उनले निर्दोष कोही पनि नपरून् भन्ने पक्षमा आफ्नो दल रहेको भन्दै सहयोग गर्ने बताए । उनले विधिको शासनमा सहयोग गर्ने दलको हिसाबले ‘जुन खालको हिसाबले अनुसन्धान भइरहेको छ’ त्यसमा सहयोग गर्न पार्टीका नेता टोपबहादुर रायमाझीलाई निर्देशन दिइएको बताए । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले नक्कली भुटानी शरणार्थी तयार पार्ने गिरोहका सबैलाई कारबाही गरिनुपर्ने बताए । उनले उक्त प्रकरणका कारण देशको अन्तर्राष्ट्रिय स्तरमा अपमान भएको उल्लेख गरे । संसद्‌मा विशेष समय माग्दै बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानबारे सदनलाई जानकारी गराउन माग गर्दै सभामुखले रुलिङ गर्नुपर्ने बताएका थिए । उनले उक्त प्रकरणलाई ‘जघन्य अपराध’ भन्दै त्यसलाई कमजोर बनाउन नहुने धारणा पनि राखेका थिए । अन्य नेताहरूले पनि उक्त प्रकरणमा निष्पक्ष छानबिन गरिनुपर्ने माग गरेका थिए ।

को हुन् बालकृष्ण खाण र टोपबहादुर रायमाझी ?
खाण र रायमाझी दुवै बारम्बार सत्ता र शक्तिमा रहेका नेताका रूपमा परिचित छन् । पञ्चायत कालमा कांग्रेसको विद्यार्थी राजनीति सुरु गरेका पूर्वगृहमन्त्री खाण सभापति देउवाका विश्वासपात्र मानिन्छन् ।
लुम्बिनीको रूपन्देहीका खाण विक्रम संवत् २०३३ सालबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
विसं २०४८ सालमा प्रतिनिधिसभाको सदस्य निर्वाचित भएका उनी पहिलो र दोस्रो दुवै संविधानसभामा सदस्य थिए ।
विसं २०४४ साल आसपास नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष बनेका उनले रक्षा, सिँचाइ तथा गृह मन्त्रायलको नेतृत्व गर्ने अवसर पाए । गत संसदीय निर्वाचनमा पराजित भएका उनी संविधान जारी भएपछि निर्वाचित भएको संसद्‌मा कांग्रेसका प्रमुख सचेतक रहेका थिए ।

sandip-raimajhi1683193514.jpg
माओवादीबाट नेकपा हुँदै एमाले बनेका भूतपूर्व उपप्रधानमन्त्री रायमाझी भने दलीय राजनीतिमा प्रतिपक्षी र संस्थापन विचारधारा दुवैसँग नजिक रहेर काम गर्ने नेताका रूपमा चिनिन्छन् ।
द्वन्द्वकालमा तत्कालीन शाही सरकारसँग वार्ता गर्न माओवादीले गठन गरेको वार्ता टोलीका सदस्य समेत रहेका उनी पूर्वमाओवादी नेता बाबुराम भट्टराईसँग निकट मानिन्थे ।
तर सन् २०१५ मा संविधान जारी भएपछि असन्तुष्टि व्यक्त गर्दै भट्टराईले माओवादी दल छाड्ने निर्णय लिँदा उनी प्रचण्डसँगै उभिएका थिए ।
विसं २०३० सालबाट राजनीति सुरु गरेका अर्घाखाँची जिल्लाका रायमाझी २०६४ देखि निरन्तर संसद्‌मा छन् ।
उनले उपप्रधानमन्त्री, भौतिक योजना तथा निर्माण, स्थानीय विकास, शान्ति तथा पुनर्निर्माण र ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी विभिन्न समयमा सम्हालेका थिए । अठार ‍वर्ष भूमिगत राजनीति गरेको बताउने रायमाझी माओवादीको युवा सङ्गठन वाईसीएलका संस्थापक अध्यक्ष थिए ।

नेपालमा भुटानी शरणार्थी
सन् १९९० को दशक सुरु हुने बेलामा भुटानबाट लखेटिएका झन्डै एक लाख नेपाली भाषी भारतको बाटो हुँदै नेपालमा शरण लिन आएका थिए । दशौँ वर्षसम्म ती शरणार्थीहरूलाई स्वदेश फर्काउने अभियान सफल नभएपछि पश्चिमा देशहरूको सहयोगमा सन् २००७ मा ती भुटानीहरूलाई तेस्रो देशमा पुनर्वासको विकल्प दिएको थियो । उक्त अभियानअन्तर्गत सञ्चालित विश्वकै ठूलोमध्येको एक शरणार्थी पुर्नवास कार्यक्रमअन्तर्गत झन्डै एक लाख शरणार्थीलाई अमेरिकामा पुनर्वास गराइएको छ ।

बेलडाँगी शरणार्थी शिविर


त्यस बेला कागजपत्रको अभावमा शरणार्थीको मान्यता नपाएका वा छुटपुट भएका भनिएका व्यक्तिहरूको नाममा रकम सङ्कलन गरी नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन मानव तस्करहरूले काम गरेका विवरणहरू प्रकाशमा आएका थिए । गृह मन्त्रालयको अभिलेखअनुसार सन् २०१९ को मे महिनाको अन्त्यसम्म नेपालबाट आठवटा देशमा एक लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी तेस्रो देशमा पुनर्वासका लागि गएका थिए । अहिले नेपालका शरणार्थी शिविरमा ६,००० भन्दा बढी भुटानी शरणार्थीहरू बाँकी रहेको बताइन्छ ।–बीबीसी 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार