भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई अझै बेपत्ता

बिहीबार, वैशाख २१, २०८०

महेन्द्रनगर । व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो ।
मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । कमला र प्रविण आमा छोरा हुन् । “पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन”, उनले भने । भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टले बताए । यो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।
हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन् । “वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतिक्षामा छौँ”, डिएसपी भट्टले भने, “झण्डै फाँच फिट जती हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ ।” सशस्त्र प्रहरी बलको टोलीले मङ्गलबारदेखि बेपत्ताको खोजी गर्दैआएको छ । खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ ।
म¬ङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । दाउरा खोज्न गएका सङ्कलकको भने ज्यान जोगिएको थियो । उनीहरु सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो । हाल सो क्षेत्रमा यार्सागुम्बा सङ्कलकलाई जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ । सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि गएका थिए । जेठ अन्तिम सातासम्म बर्सेनी यार्सागुम्बा सङ्कलन गरिन्छ ।

हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी

दार्चुलाको व्यास गाउँपालिका(१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ ।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा परी हराएकामध्ये तीन जनाको शव भेटिए पनि बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको बताए ।
“बुधबार तीन वटा शव भेटिएको क्षेत्रतिर बिहानदेखि असईको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ”, उनले भने, “यहाँ रहेका तीन वटा शव आजै परीक्षणका लागि सदरमुकाम खलङ्गा लैजाने विषयमा समन्वय भएको छ ।”
हाल हिमपहिरोमा बेपत्ता ईश्वरी र क्षिमीसोमो नाताले फुपू(भदै हुन्  । उनीहरु एक साताअघि मात्रै यार्सागुम्बा सङ्कलनका लागि छाङरु पुगेका थिए ।
बुधबार सुरक्षाकर्मीको टोलीले दार्चुला दुहँ गाउँपालिका(४ का ३६ वर्षीया कमला कुँवर, उहाँका छोरा १८ वर्षीय प्रवीण कुँवर र डोटीको बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव भेट्याएको थियो ।
यसअघि सशस्त्र प्रहरीको टोलीले यार्सागुम्बा टिप्न गएका सात जनाको उद्धार गरेको थियो । “आज पनि खोजीमा टोली खटिए पनि मौसम अनुकूल भइसकेको छैन”, भट्टले भने, “घटनापछि यार्सा सङ्कलक सुरक्षित स्थानतर्फ झरेका छन् ।” यहाँ रहेका वर्ष दार्चुलालगायतका जिल्लाबाट यार्सा सङ्कलनका लागि आउने गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार