एम्बुलेन्स सञ्चालन अनुमतिपत्र नवीकरण गर्न आह्वान

बुधबार, वैशाख २०, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन अनुमति एवम् नवीकरण पत्र लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी केही एम्बुलेन्सले जनस्वास्थ्य ऐन २०७५ को प्रावधानअनुसार सञ्चालन अनुमति एवम् नवीकरण पत्र नलिईकन एम्बुलेन्स सञ्चालन गरिरहेको पाइएको जनाएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार हरेक दुई वर्षमा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्नुपर्दछ । सञ्जालमा आबद्ध हुन पनि सबै एम्बुलेन्स सञ्चालकहरूलाई सूचनामा ३५ दिनभित्र सो निर्देशिकाअनुसार मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्चालनमा आबद्ध हुन उल्लेख गरिएको छ । उक्त अवधिमा सम्बन्धित सबैले सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ । नेपालभर एक सय दुई अङ्कको टेलिफोनबाट एम्बुलेन्स सेवा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । हाल सबैको पहुँचमा पुग्ने गरी एम्बुलेन्स सञ्चालन गर्न एम्बुलेन्स सञ्जालको निर्माण भई सफ्टवेयरमा विवरणको अद्यावधिक गर्ने कार्य भइरहेको मन्त्रालयले सूचनामार्फत जनाएको छ ।

बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स
हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ । उक्त गाउँपालिकासम्म आइपुग्ने बाटो अभावका कारण सलीसल्लाबाट हेलिकप्टरमार्फत ढुवानी गरेर एम्बुलेन्स ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए ।
अब गाउँपालिकाभित्रका सेवाग्राहीहरूका लागि जिल्ला अस्पतालसम्म ल्याउन निःशुल्क सेवा प्रदान गर्ने उक्त एम्बुलेन्स हाल तयारी अवस्थामा राखिएको छ । एम्बुलेन्स आउनुअगाडि बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरिएकामा अब पालिकाको आफ्नै एम्बुलेन्सबाट बिरामीको उद्धार गर्न सहज हुने भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए । भारतीय दूतावासले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स माथिल्लो हुम्ला सडक सञ्जालसँग नजोडिएका कारण  गाउँपालिकासम्म ल्याउन कठिनाइ भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार