डाक्टरलाई जचाएको फि अब नौ सय ४० रुपैयाँ

मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ । नेपाल चिकित्सक सङ्घ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले चिकित्सकको परामर्श सेवा शुल्क बढाउने निर्णय गरेका छन् ।
नयाँ शुल्कअनुसार एमबिबिएस तथा बिडिएस तहका चिकित्सकको पाँच वर्षसम्म अनुभव भएका चार सय २० र पाँच वर्षभन्दा माथि अनुभव भएका पाँच सय १५ तोकिएको छ । यस्तै, अब स्नातक तहका चिकित्सकले पाँच वर्षसम्म अनुभव भएकाले रु पाँच सय ९० र त्योभन्दा बढी छ भने रु ६ सय ७० तथा  एमडी, एमएस, एमडिएस तहका चिकित्सकले पाँच वर्षसम्मको अनुभव भएमा रु सात सय ५० र पाँच वर्ष बढी अनुभव भएमा रु आठ सय शुल्क तोकिएको छ ।
यस्तै, डिएम÷एमसिएच तहका चिकित्सकको पाँच वर्षसम्मको अनुभव भएकाको रु आठ सय ८० तथा एमडी÷एमसिएच पाँच वर्षभन्दा माथि अनुभव भएकाको रु नौ सय ४० र एमडी÷एमएस÷एमडिएसका १० वर्षभन्दा माथिका अनुभव भएका चिकित्सकको रु नौ सय ४० शुल्क निर्धारण गरिएको छ ।
निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थामा मासिक रूपमा नियुक्ति लिई सेवा पु¥याउने मेडिकल अफिसर (हाउस अफिसर)को पारिश्रमिक रु ४२ हजार कायम गरिएको जनाइएको छ ।  
सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्की र अफिनका अध्यक्ष डा पदमबहादुर खड्काले सयुक्त विज्ञप्ति जारी गरी जेठ महिनादेखि चिकित्सकको परामर्श शुल्क बढाउने निर्णय गरेको जानकारी दिए ।
“स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट ओपिडी शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्म बहिरङ्ग सेवा शुल्क (ओपिडी) चिकित्सक सङ्घले वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शका आधारमा तोक्न सकिने अख्तियारीलाई मुख्य आधार मानी बढाउने निर्णय गरिएको हो,” विज्ञप्तिमा भनिएको छ, “नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई आधार मानी जेठदेखि परामर्श शुल्क लागू गर्ने निर्णय गरिएको हो ।”
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले चिकित्सकको शुल्क पुनरावलोकन नभएसम्मका शुल्क निर्धारण गर्ने अधिकार चिकित्सक सङ्घलाई दिइएको बताए ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार