गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त, लुम्बिनीमा डिल्लीबहादुर चौधरीको दाबी

बिहीबार, वैशाख १४, २०८०

गण्डकी बुटलब । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै काग्रेसले नेतृत्वको अवसर आएको छ । गण्डकीमा काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् भने लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री दाबी गरेका छन् । गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका पाण्डे नियुक्त भएका हुन् । उनी गण्डकी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता हुन् । पाण्डेलाई प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  
कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गरेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबारका  लागि तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।  
एमालेनेतृत्वको सरकारका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट गत सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले मङ्गलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गरेका थिए । कांग्रेस र माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदले चौधरीलाई संविधान बमोजिम मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएका थिए ।
प्रदेश प्रमुखले तोकेको समय सीमाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली कांग्रेससहित गठबन्धन दलका सदस्यले सरकारको दाबी प्रस्तुत गरेका हुन् ।
उनलाई मुख्यमन्त्री नियुक्ति गर्न नेकपा माओवादी केन्द्र, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) को समर्थन छ ।
कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११ सदस्य छन् । साथै राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार÷चार,  जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक÷एक र एक स्वतन्त्र सदस्य छन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार