कोभिड-१९ को बुस्टर मात्रा खोप कहिलेसम्म लगाइरहने ?

सोमबार, वैशाख ११, २०८०

काठमाडौं । तीन वर्षअघि देखिएको कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न आपत्कालीन प्रयोगका लागि अनुमति पाएका विभिन्न खोपहरूको प्रभावकारिता त्यसयता देखापरेका विभिन्न भेरिअन्टहरूमा कति रहेको छ भन्ने बहसका माझ विज्ञहरूले जनस्वास्थ्यका मापदण्डहरूको पालनामा गम्भीरता देखाउन आग्रह गरेका छन् ।
उनीहरूका भनाइमा अस्पतालमा भर्ना हुने वा ज्यान लिने खालका गम्भीर प्रकारका सङ्क्रमण हुन नदिन नियमित मात्रा कोभिड खोप लिएपछि अतिरिक्त मात्रा खोप लगाउनु उपयुक्त हुन्छ ।
कोभिड-१९ का नयाँनयाँ भेरिअन्ट देखापरेका सन्दर्भमा ती सबैमा हाल प्रयोगमा आएका खोप प्रभावकारी हुने निश्चित नभएकाले सावधानीका अन्य विकल्प पनि अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।
मार्च महिनाको अन्त्यमा सरकारले सर्वजनिक गरेको एउटा आँकडाअनुसार ८२.८ प्रतिशत नेपालीले एक मात्रा कोभिड खोप लगाएका छन् । पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८३.१ प्रतिशत छ । ३२ प्रतिशतभन्दा धेरैले बुस्टर डोज पनि भनिने अतिरिक्त मात्रा खोप लगाएको बताइन्छ ।

कोभिडका बुस्टर खोप कहिलेसम्म लगाइरहने ?
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष समेत रहेका डा. रमेशकान्त अधिकारी कोभिड-१९ खोपसम्बन्धी जानकारीहरू अझै पनि आउने क्रममै रहेकाले खोप कहिलेसम्म लगाइरहने भनेर यकिन गरी भन्न नसकिने बताउँछन् ।
उनले भने, “हामीलाई अहिलेसम्म यति थाहा छ कि कोभिड प्रतिरोधी एन्टीबडीको तह बिस्तारै घट्दै जाने रहेछ। त्यही भएर बुस्टर डोज दिने कुरा गरियो। त्यसमा पनि पहिला जुन खोप लगाएको थियो त्यो भन्दा अर्को लगायो भने राम्रो हुन्छ र त्यो लगाउन सकिन्छ भन्ने कुरा आयो। अहिलेसम्म आइपुग्दा कहिलेसम्म खोप चाहिन्छ भन्नेमा विज्ञान प्रष्ट छैन ।”
उनले अतिरिक्त मात्रा खोप लगाउन मानिसहरूको रुचि पनि कम देखिएको भन्दै भावी दिनमा कोभिड-१९ सम्बन्धी खोपले पनि इन्फ्लुएन्जा पनि भनिने फ्लु सरहको उपचारको बाटो पछ्याउन सक्ने बताए ।
उनले थपे, “जस्तो अब ओमिक्रोनकै विभिन्न भेरिअन्टहरू आए, यसमा सधैँ पुरानै खोप प्रयोग गरेर भएन। खोप लगाएको ६ महिनापछि बुस्टर दिनु राम्रो भनिएको भए पनि भेरिअन्ट फरक आउँदा त्यो काम लाग्दैन। अझै पनि खोपको परीक्षणहरू चलिरहेको छ । त्यही भएर दौडिएर गएर हामीले बुस्टरहरू दिइराख्यौँ भने पनि त्यसले काम गरिहाल्छ भन्ने प्रष्ट छैन ।”
तर डा. अधिकारी खोपले सङ्क्रमण पूर्ण रूपमा रोक्न नसकेपनि त्यसले मृत्यु र गम्भीर प्रकारका बिरामी हुने अवस्थाबाट जोगाएको बताउँछन् । उनका अनुसार ज्येष्ठ नागरिक तथा गम्भीर खालका अन्य रोग भएका व्यक्तिलाई कोभिड-१९ भएको अवस्थामा ‘कडा खालको निमोनिया’ नहोस् भन्नका लागि बुस्टर खोप लगाउन सुझाव भने दिइराखिएको छ ।

डब्ल्यूएचओको नयाँ मार्गदर्शनले के भन्छ ?
कोभिड-१९ का अतिरिक्त खोप वितरणसम्बन्धी नयाँ मार्गदर्शन गएको मार्च महिनाको अन्त्यमा डब्ल्यूएचओले जारी गरेको थियो जसले खोप लगाउनेहरूलाई उच्च, मध्यम र कम जोखिम समूहमा वर्गीकरण गरेको थियो ।
डब्ल्यूएचओको खोपसम्बन्धी रणनीतिक सल्लाहकार समूह (सेज) को उक्त संशोधित मार्गदर्शनमा गम्भीर प्रकारका रोग र मृत्यु, खोपले दिएको परिणाम, लागत, खोप कार्यक्रम र समुदायको स्वीकार्यतालाई ध्यान दिएर निर्णय लिन भनिएको छ ।
उच्च प्राथमिकतामा परेका समूहमा वृद्धवृद्धा र मधुमेह तथा मुटुसम्बन्धी गम्भीर प्रकारका रोग लागेका व्यक्तिलाई राखिएको छ ।
त्यसबाहेक एचआईभी सङ्क्रमित, अङ्ग प्रत्यारोपण गराएका, ६ महिना वा त्योभन्दा माथिल्लो उमेरका बालबालिका, गर्भवती र अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी छन् ।
उक्त समूहलाई अन्तिम डोज लगाएको ६ महिना वा एक वर्षभित्र अतिरिक्त खोप लगाउन सुझाव दिइएको छ । त्यसलाई बर्सेनि कोभिड १९ खोपको बुस्टर लगाउने अर्थमा नलिन भन्दै डब्ल्यूएचओले उमेर र रोगप्रतिरोधी क्षमतामा देखिएका चुनौतीलाई ध्यान दिएर निर्णय लिन भनेको छ ।
मध्यम प्रथामिकताको समूहमा ५० देखि ६० वर्षको उमेरमुनिका स्वस्थ वयस्क र अन्य रोग पनि भएका बालबालिका र किशोर किशोरीसहितका व्यक्ति पर्छन् । उक्त समूहले नियमित खोप र त्यस पछिको पहिलो बुस्टर डोज लिनुपर्ने सुझाव डब्ल्यूएचओको छ।
यो समूहलाई थप बुस्टर लिनु सुरक्षित भए पनि उक्त विज्ञ समितिले तिनलाई नियमित रूपमा खोप लगाउन सुझाव दिएको छैन ।
६ महिनादेखि १७ वर्षसम्मको उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई कम जोखिमको समूहमा राखिएको छ । नियमित र बुस्टर खोपको मात्रा बालबालिका र वयस्कमा प्रभावकारी भए पनि तिनमा रोगको कम भार भएकाले लागतसहितका अरू कारणहरूलाई ध्यान दिएर तिनलाई दिने खोपबारे निर्णय लिन डब्ल्यूएचओले सुझाव दिएको छ ।

सरकारले कसलाई दिइरहेको छ बुस्टर खोप
सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ डा. शेरबहादुर पुन कम्तीमा दुई मात्रा खोप सबैले लगाउनुपर्ने बताउँछन् । उनले भने, “थप बुस्टर मात्राले हामीलाई अझै सुरक्षित बनाउँछ। दुई मात्रा खोप लगाएर ६ महिना नाघ्दै गर्दा र बुस्टर मात्रा दिँदै गर्दा जब हाम्रो देश र अन्य देशमा कोरोनाभाइरसले आफ्नो स्वरूप परिवर्तन गर्दै गयो त्यो बेला एकदमै ठूलो हलचल देखिएन ।"
उनले थपे, “सङ्क्रमितको अङ्कभन्दा पनि हामीले अस्पताल भर्ना हुने र मृत्यु हुने जुन अवस्था छ त्यसलाई ध्यान दिनुपर्छ। पूर्ण मात्रा खोप लगाइसकेपछि निरन्तर रूपमा अतिरिक्त दिने या नदिने भन्ने जुन कुरा छ त्यो जोखिम समूहबाहेक अरूका हकमा त्यति अनिवार्य म देख्दिनँ ।”
निरन्तर कोभिडका नयाँ भेरिअन्टहरू देखापरिरहेको भन्दै डा. पुनले जनस्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने र स्वास्थ्य सतर्कता अवलम्बन गरिनुपर्नेमा जोड दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण मात्राको खोप लगाएको तीन महिना भएका वा पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना भएका निश्चित समूहका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने जनाएको छ । त्यसमा ५५ वर्षको उमेरमाथिका सबैजना, स्वास्थ्यकर्मी, गर्भवती र १२ वर्षमाथिका दीर्घरोगी र रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिहरू समाविष्ट गरिएको छ ।-बीबीसी 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार