१० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयलाई काठमाठौं महानगर प्रमुखको आग्रह

शनिबार, वैशाख ९, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निजी (संस्थागत) विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन सम्बन्धित विद्यालयलाई आग्रह गरेका छन् ।
नयाँ शैक्षिकसत्रका लागि भर्ना अभियान चलिरहेका बेला महानगर प्रमुख साहले, महानगर पालिका भित्र रहेका निजी विद्यालयलाई निमयसङ्गत छात्रवृत्ति प्रदान गर्न ध्यानाकर्षण गराएका हुन् ।
“कामपाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ । “यो नियमअनुसार निजी तथा संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः शतप्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ”, प्रमुख शाहले भनेका छन्, “विद्यालयले कूल विद्यार्र्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघटाइ जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।” यसरी उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीलाई सूचित गराउन सम्बन्धित सबै विद्यालयलाई प्रमुख साहले आग्रह पनि गरेका छन् ।
प्रमुख साहले कानुनमा भएको व्यवस्था कार्यान्वयनका नगरे कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन् ।
कामपामा  ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।
कामपाले एक सूचना जारी गर्दै शिक्षा नियमावली २०७९ को ९ संशोधनको नियम १४६ (२) बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्नमाध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग शुल्क लिन नपाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार