आइएमईको दोस्रो केवलकार संचालनमा, १३ महिनामा तयार भयो मौलाकालिका केवलकार

शनिबार, वैशाख २, २०८०

काठमाडौं। आइएमई समूहको दोस्रो केवलकार गैडाकोटमा शुक्रबारदेखि संचालनमा आएको छ । एक अर्ब भन्दा बढी लगानीमा स्थापना भएको केवलकार नयाँ वर्ष पारेर व्यवसायिक रुपमा संचालनमा ल्याइएको हो ।
आइएमई समूहको पहिलो केवलकार प्रोजेक्ट चन्द्रागिरि हो । चन्द्रागिरिपछि यो समूह आक्रामक रुपमा केवलकारमा लगानी गरिरहेको छ । समूहले यो केवलकार १३ महिनामा तयार पारेर संचालनमा ल्याएको हो ।
केवलकार व्यवस्थापन विभाग प्रमुख अभिषेक विक्रम शाहले निर्माण सुरु भएको १३ महिनामा केवलकार संचालनमा ल्याउन सफल भएको जिकिर गरे ।
दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला छन् । धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रलाई लक्षित गरेर यो केवलकार स्थापना गरिएको हो ।
केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी  स्थानीयवासीको रहेको छ ।
गैँडाकोट मौलाकालिका मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमीन खरीद गरेर बटम स्टेशन राखिएको छ । केवलकारमार्फत मौलाकाली  मन्दिरसम्म ५ मिनेटमै  पुग्नसकिने छ। हाल केबलकारले दुईतर्फी मूल्य ५५० कायम गरिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको  लागि २७५ को टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निशुल्क सेवा दिने जनाएको छ ।

मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा शुक्रबार दर्शनार्थीको घुइँचो लाग्यो । यस मन्दिरमा शुद्ध मनले पूजा गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण भारतबाट दर्शनार्थी आउने गरेका छन् ।
यस मन्दिरमा नयाँ वर्षसँगै विजया दशमी, माघे सङ्क्रान्ति, सरस्वती पूजा तथा चैते दसैँलगायतका पर्वमा भक्तजनको अत्यधिक भीड लाग्ने गरेको छ । मन्दिरमा माताको दर्शका लागि नवलपुर तथा चितवनका साथै देशका विभिन्न स्थान र भारतबाट भक्तजन आउने गरेका छन् । समुद्री सतहबाट पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।

मौलाकालिका मन्दिर पुग्ने केवलकारको काम सुरु – Kayakairan
१६औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वतको नाम मौला पहाड रहन गएको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पूजारी क्षेत्रप्रसाद पराजुलीले बताए । “१६औँ शताब्दीमा नवलपुरसहित यस ठाउँ पाल्पा राज्यको रुपमा अवस्थित थियो । यहाँ राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, पराजुलीले भने, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे । सेनाले भगवानको आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए ।” विसं १९९० को भूकम्पमा सबै सखाप भएर मौलाकालिका माताको पूजा गर्ने ठाउँ जङ्गल हुन पुगेको धार्मिक सेवा समिति मौलाकालिका अध्यक्ष शालिकराम सापकोटाले बताए । “भूकम्पको करिब ४० वर्षपछि यसै ठाउँमा काशिनाथ पौडेल भन्ने ब्राह्मणले सपनामा सेतो कपडा लगाएकी महिलाले ‘म देवी हुँ मलाई उद्धार गर, म एउटा ठूलो डाँडाको सालको बुटामुनि अलपत्र छु’ भनेर गइन् भन्ने गरिएको छ”, सापकोटाले भने, “भोलिपल्ट ती ब्राह्मणले छिमेकीलाई भन्न जाँदा कुमारसिंह गुरुङले उनको कुरामा विश्वास गरेर उनको सहयोगमा हात हतियार बोकेर जङ्गल फडानी गर्दा डाँडाको टुप्पामा ठूलो सालको रुख भेटाए ।”
रुखको तल खोस्रिएर हेर्दा खिया लागेको घण्टी, ओखलको ढुङ्गा, कालिकाको शिला भेटाएपछि पूजा गर्ने ठाउँ बनाइएको उनले बताए ।    
“त्यहाँ उत्पत्ति भएको कालिकाको प्रभावले विभिन्न ठाउँबाट भक्तजन आउन लागे”, सापकोटाले भने, “आस्था र भक्तिको प्रभावले विभिन्न ठाउँबाट आएका भक्तजनले मनकामना पूरा हुने बताउन थालेपछि भक्तजन निरन्तर आउने क्रम बढेको छ ।” हिन्दू पौराणिक कथाअनुसार देवी, काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिने उहाँले बताउनुभयो । मौलालिका मन्दिरलाई स्थानीयस्तरबाट धेरै पटक पुनःस्थापित गरिएको सापकोटाको भनाइ छ । सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ ।
गैँडाकोटबाट मौलाकालिकाको फेदीसम्म यातायातको व्यवस्था रहेको छ भने करिब एक घण्टाको सिँढीमार्गबाट पैदल यात्रा गर्दै उकालो उक्लिएर तथा मोटरसाइकल र अटो चढेर मौलाकालिका मन्दिरसम्म पुग्न सकिन्छ । मौलाकालिका मन्दिरसम्म पुग्नका लागि हिजोदेखि मौलाकालिका केबलकार सञ्चालनमा आएको छ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार