गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ का लागि आह्वान

शुक्रबार, वैशाख १, २०८०

पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । केन्द्रमा बनेको सत्ता समिकरणका कारण माओवादी केन्द्र सरकारबाट अगल भएपछि अल्पमतमा परेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान भएको हो ।
संवैधानिक व्यवस्थाअनुसार गण्डकीका मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समयसीमाको अन्तिम दिन प्रदेशसभा अधिवेशन आह्वान भएको छ । वैशाख ९ गते प्रदेश सभाको अधिवेशन डाक्ने र प्रदेश सभा सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री अधिकारीले तयारी गरेका छन् ।
राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेशमा पनि चैत ९ गते नेकपा माओवादीले एमाले सरकारबाट समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटनमन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिएका थिए ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि १ महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक वाध्यता छ ।
अधिकारीले विश्वासको मत पाउने अवस्था नरहेकाले संसदमा संवोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।
‘विश्वासको मत लिन त्यतिञ्जेलसम्म अरु दलसँग पनि छलफल गर्ने छौं । १(२ दिनभित्रै संसदीय दलको बैठक पनि बस्छ,’ सरकारका प्रवक्ता तथा कानुनमन्त्री मन्त्री रोशन गाहामगरले भने, ‘विश्वासको मतै नपाउने अवस्थामा राजीनामा दिने कुरा त भइ नै हाल्यो ।’
गण्डकी प्रदेशमा ठूलो दलको हैसियतले माओवादीको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज मुख्यमन्त्री बन्न तयारी गरिरहेका छन् ।
६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा २७ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ । ८ सदस्य रहेको माओवादीसँगको सहकार्यमा सरकार बनाउन सहज बहुमत पुग्छ ।
माओवादीबाट कृष्ण धिताल सभामुख रहेकाले कांग्रेस–माओवादी मिल्दा सरकार बनाउन पुग्ने सहज ३४ जना हुन्छन् ।मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत चुनाव जितेका राजीव गुरुङ ९दीपक मनाङे० पनि मिल्दा अबको सत्ता गठबन्धन ३५ सदस्यीय रहन्छ । अहिले एमालेका २७ र राप्रपाका २ सदस्यसहित खगराज नेतृत्वको अल्पमतको सरकार छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार